अवैध सुनसहित विमानस्थलबाट तीन जना पक्राउ

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १५:१९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउँदै गरिएको सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

एयर अरेबियाको उडानबाट सारजाहादेखि काठमाडौं आएका तीन जनालाई सुनका सिक्री लगायत सामग्रीसहित प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट बाहिरिने क्रममा उनीहरूमाथि जाँच गर्दा कर छली गरिएको अवैध सुन भेटिएको र शंकास्पद गतिविधि देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका १ का ३२ वर्षीय सुकुराम लामा, रसुवाकै नौकुण्ड गाउँपालिका ६ का २७ वर्षीय पेम्बा थोक्रा र रसुवाकै नौकुण्ड गाउँपालिका ६ का २२ वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू तीनै जनालाई थप अनुसन्धान गरी आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*