बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक

हेटौंडा खबर
२८ चैत्र २०७८, सोमबार १९:४४

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको ५ दलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।

आईतबार र सोमबार दुईदिन काठमाडौंमा बसेको गठबन्धनकाे बैठकमा बागमती प्रदेशका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका पार्टी प्रमूखहरुको उपस्थिति रहेको थियो ।

यसअघि बागमती प्रदेशका ५ दलीय गठबन्धनले आआफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिईसकेका छन् भने बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले बताए ।

प्रदेशमा नेकपा एमालेले वडा तहदेखि नै आफ्ना उम्मेदवारहरु टुंग्याउदै नाम सिफारिस गरिरहेको छ भने गठबन्धन सहमति जुटाउनमा छलफलमा जुटिरहेको छ। प्रदेश र केन्द्रको निर्णय कुर्दा जिल्लामा गठबन्धनको उम्मेदवारहरुको अझै टुंगो लाग्न सकेको छैन । जिल्लाका गठबन्धनका नेताहरु भने केन्द्रको निर्णय अनुसार चल्नुपर्ने भन्दै आफ्ना उम्मेदवारहरुलाई अघि सार्न सकेका छैनन्  ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*