विमानस्थलबाट गोलीसहित पक्राउ परेकी महिलाको फेरिरहेको बयान

हेटौंडा खबर
२९ चैत्र २०७८, मंगलवार १७:४०

आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परिन् । एक राउण्ड गोलीसहित तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपालीलाई विमास्थल सुरक्षार्थ खटिएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उनी नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौंबाट क्वालालम्पुरहुँदै जापान जान लागेकी थिइन् ।

उनले बोकेको हाते ब्याग चेकजाँच गर्दा गोली फेला परेको थियो । विमानस्थल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालका अनुसार उनले बोकेको लेडिज हाते ब्यागलाई एक्स–रे ‘ए’ मा चेक गर्दा गोली फेला परेको थियो ।

कालो रंगको वालेटभित्र केएफ १३ ५.५६ लेखिएको एक राउण्ड गोली राउण्ड फेला परेको थियो । उनलाई विमानस्थल प्रहरीले सामान्य सोधपुछपछि थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

सोधपुछका क्रममा उनले जानाजान गोली नबोकेको बताएकी छिन् ।

बयानको क्रममा महिलाले फेर्दै बयान दिने गरेकी छिन् ।

‘कहिले गोली बोकेर हिंड्नु हुँदैन भन्ने जानकारी भएन, कहिले मेकअपको सामान हाल्दा गोली हालिएछ भन्ने बयान दिनुभएको छ,’ एक प्रहरी अधिकारीले भने ।

आफ्नो कुनै गलत नियत नभएको उनको भनाइ छ ।

जिल्ला अदालतबाट म्याद थप गरेर महानगरीय प्रहरी बृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ ।
महिलाले जानाजान गोली लिएर विदेश जान खोजेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी सुदिप गिरीले उनीमाथि अनुसन्धान भइरहेको र थप कुरा विस्तारै आउने बताए ।

‘अनुसन्धानपछि थप कुरा खुल्ला । प्रहरी कानुन अनुसार कारवाहीका लागि आवश्यक अनुसन्धान गरिरहेको छ । उनको ब्यागमा गोली कसरी पुग्यो भन्ने कुरा अनुसन्धानपछि खुल्ला ।’ एसएसपी गिरीले भने ।

प्रारम्भिक बयानको क्रममा उनले आफ्नो झोलाभित्र कसैले गोली राखिदिएको हुन सक्ने आशंका समेत व्यक्त गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*