बलात्कार मुद्दाका कैदी वीर अस्पतालबाट फरार

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १२:०७

वीर अस्पतालबाट एक कैदी फरार भएका छन्। उपचारका लागि अस्पताल पुर्‍याइएका कैदी बुधबार राति फरार भएका हुन्।

फरार हुनेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–३ कुन्चोक करमडाँडा घर भएका ४५ वर्षीय राजेश तिरुवा छन्। उनी बलात्कार मुद्दाका प्रतिवादी हुन्।तिरुवालाई सिन्धुपाल्चोक प्रहरीले गत माघ १७ गते बलात्कार आरोपमा कुन्चोकबाट पक्राउ गरेको थियो।

गत माघ १६ गते एक महिला चौतारा जान्छु भनी घरबाट निस्केकी थिइन्। ति महिलाको बाटोमा तिरुवासँग भेट भएको थियो। त्यसपछि तिरुवाले ती महिलालाई ललाई फकाई आफ्नो घर लगि राति बलात्कार गरेको आरोप लागेको थियो।बलात्कार आरोपमा उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो। त्यसपछि उनी कारगार बस्दै आएका थिए। बिरामी भएपछि मंगलबार मात्रै उनलाई काठमाडौं ल्याएर केन्द्रीय कारागारमा राखिएको थियो। राति उपचारका लागि वीर अस्पताल लगिएकोमा उनी अस्पतालबाटै भागेका हुन्।

कैदी फरार भएपछि के/कसरी फरार भए भन्नेबारे कारागार व्यवस्थापन विभाग र केन्द्रीय कारागारका जेलरबीच छलफल सुरु गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*