गठबन्धनको निर्णयले कांग्रेस विभाजित

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १२:१३

वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गठबन्धन दलबीच तालमेल गर्न लागिएको भन्दै सल्यान र जुम्लामा कांग्रेस विभाजित भएको छ । दुवै जिल्लाका सभापतिहरूले आफूखुसी तालमेलको निर्णय गरेको भन्दै कांग्रेस पदाधिकारी र अन्य नेताहरू असन्तुष्ट बनेका हुन् ।

जुम्लामा सत्ता गठबन्धनका दलहरूले कांग्रेसका सभापति कर्णबहादुर शाहीको संयोजकत्वमा स्थानीय तहमा तालमेल गर्न समिति गठन गरेका थिए । पार्टीको जिल्ला कार्यसमितिको बैठकको निर्णयबिनै सभापति शाहीले तालमेलका लागि कार्यदल बनाएर अघि बढेको भन्दै पदाधिकारी र अन्य नेताहरूले विरोध जनाएका हुन् । उनीहरूले प्रेस विज्ञप्ति प्रकाशित गरी शाहीको एकाधिकार नमान्ने बताएका छन् ।

‘सभापतिले आन्तरिक छलफल नगरी एकल निर्णय गरेर अघि बढ्नु अराजकता हो,’ पार्टी उपसभापति कार्मा बुढाले भने, ‘जिल्लाका ६० वडा सभापति, ८ वटा पालिका सभापति र २ क्षेत्रीय सभापतिसहित ७७ जना जिल्लास्तरीय नेतासँग बसेको बैठकले गठबन्धन नगर्ने सर्वसम्मत निर्णय गरेको थियो, तर सभापति एक्लै अघि बढ्नुभयो ।’ उनीसहित अर्का उपसभापति दीपक शाही, सचिव लक्ष्मण शाही, अर्जुनसिंह कठायत, सहसचिव नन्दप्रसाद चौलागाईं, धनेन्द्र बोहरा, क्षेत्रीय सभापतिहरू लछीमान बोहरा र कालीबहादुर बुढालगायतले प्रकाशित गरेको विज्ञप्तिमा निरंकुश शैलीमा गरिएको तालमेलले कुनै अर्थ नराख्ने जनाइएको छ ।

‘स्थानीय तहमा कांग्रेस एक्लैले प्रतिस्पर्धा गर्न सक्छ,’ सचिव शाहीले भने, ‘तर अरू दलको अस्तित्व बचाउन तालमेल गर्न खोजियो ।’ सभापति आफूखुसी हिँड्न खोजे आफूहरूलाई मान्य नहुने उनको भनाइ छ । त्यस्तै, सल्यानमा पनि सभापति केशबहादुर विष्टले एकलौटी निर्णय गरेको भन्दै कांग्रेसमा विवाद विवाद उत्पन्न भएको छ ।

सभापति विष्टले विधानबाहिर गएर तालमेलको सहमति गरेको भन्दै असन्तुष्ट पदाधिकारीहरूले विरोध जनाएका हुन् । असन्तुष्ट समूहले सोमबार पत्रकार सम्मेलन गरी सभापतिले गरेका निर्णयमा आफूहरू सहमत नभएको जनाएका हुन् । उपसभापति सन्तोष केसीले सभापतिले आफूहरूलाई दासको जस्तो व्यवहार गरेको आरोप लगाए । ‘स्थानीय निर्वाचनमा क्षमताअनुसार सबैलाई अवसर दिनुपर्छ भन्ने हाम्रो माग थियो । तर सभापतिले आफूलाई फाइदा हुने गरी मात्र काम गरे,’ उनले भने, ‘पार्टी कार्यालयमा लगातार दुई दिन बैठक बसे पनि उनले बैठकमा संसदीय समितिका बारेमा कुनै कुरा उठाएनन्, बरु बैठकै छाडेर निस्किए ।’ सभापतिले गरेको एकलौटी निर्णयले निर्वाचनमा ठूलो असर पार्ने उनको भनाइ छ ।

सभापतिले बेवास्ता गरे आफूहरू त्यसविरुद्ध जाने उपसभापति केसीले चेतावनी दिए । उनका अनुसार ४४ सदस्यीय जिल्ला कार्यसमितिमा ३३ जनाले गठबन्धनप्रति असन्तुष्टि जनाएका छन् । उनले सभापतिका पक्षमा ११ जना मात्रै रहेको दाबी गरे । ‘बहुमतका आधारमा जाऊँ भन्दा पनि सभापतिले मान्दै मानेनन्,’ उनले भने, ‘उनी विधानअनुसार जान पनि तयार छैनन् ।’

सभापति विष्टले भने केन्द्रमा पठाएको प्रतिवेदन, संसदीय समितिको निर्णय, केन्द्रको नीति तथा विधानअनुसार नै गरेको बताए । ‘मैले सबैसँग सल्लाह गरी यो निर्णय गरेको हुँ,’ उनले भने, ‘पदाधिकारीहरूले गरेको मागअनुसार सहमति गरेर सबैलाई मिलाएर लैजाने पहल भइरहेको छ ।’ पदाधिकारीले विवाद गरेकै कारण आफू यसअघिको बैठकबाट निस्किएको र अर्को बैठक वैशाख ३ गते बोलाएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*