४ वर्षमा २ अर्बको विद्युतीय गाडी आयात

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १३:३०

गएको ४ वर्षमा नेपालमा करीब २ अर्ब रुपैयाँको विद्युतीय सवारीसाधन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ४ वर्षमा मुलुकमा १ अर्ब ९४ करोड ६० लाख रुपैयाँभन्दा बढीको विद्युतीय सवारीसाधन आयात भएको हो ।

इन्धनले चल्नेभन्दा विद्युतीय सवारीसाधनमा उपभोक्ताको आकर्षण बढ्दै गएकाले प्रत्येक वर्ष यसको आयात ग्राफ उकालो लागिरहेको छ । विभागले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा अटोरिक्सा, बस, कार, जिप, बाइक गरी ९ करोड ५६ लाख ५७ हजारको ३ सय थान विद्युतीय सवारीसाधन आयात भएका छन् ।

आव २०७६/७७ मा ३९ करोड ७६ लाख ६५ हजार रुपैयाँ बराबरका साढे ५ सय र आव २०७७/७८ मा ९५ करोड २७ लाख ७१ हजारको २ हजार २ सय विद्युतीय सवारीसाधन आयात भएको अभिलेख छ ।

चालू आवको ८ महीनामा ५० करोड रुपैयाँ बराबरका ६ हजार ८ सय २१ विद्युतीय सवारीसाधन आयात भएको छ ।

विद्युतीय सवारीसाधन डिजेल र पेट्रोलबाट चल्नेभन्दा सस्तो पर्ने र माइलेज पनि राम्रो हुने भएकाले नेपालमा पछिल्लो समय यसको प्रयोग बढ्दै गएको हुन्डाई ट्रेनिङ एकेडेमीका बासुदेव तिमिल्सिना बताउँछन् ।

उनका अनुसार डिजेल वा पेट्रोल गाडीमा १ किलोमीटर यात्रा गर्दा १२ देखि १३ रुपैयाँको इन्धन खर्च हुन्छ । विद्युतीय गाडीमा सोही दूरीको यात्रा गर्दा करीब २ रुपैयाँमात्र खर्च हुन्छ ।त्यसैगरी, ५० लिटरको ट्यांकी भएको डिजेल/पेट्रोल गाडीभन्दा ६४ किलोवाटको ब्याट्री भएको विद्युतीय साधनको माइलेज राम्रो हुन्छ ।

विभिन्न अध्ययनले सन् २०२३ सम्ममा नेपालको विद्युत् बचत अवस्थामा अहिलेभन्दा व्यापक सुधार आउने आकलन गरिएकाले पनि उपभोक्ताको आकर्षण यसतर्फ बढिरहेको उनले बताए ।

डिजेल तथा पेट्रोल गाडीमा भन्दा विद्युतीयमा मर्मत खर्च करीब ४० प्रतिशत कम लाग्ने भएकाले पनि यसमा आकर्षण बढको हुनसक्ने उनको बुझाइ छ ।नेपालमा पहिलोपल्ट १९७५ सालमा ट्रली बसबाट विद्युतीय सवारीसाधन प्रयोग भएको इतिहास छ । त्यसपछि १९९७ मा सफा टेम्पो, साना विद्युतीय कार, बस हुँदै अहिले अटोरिक्सादेखि बाइकसम्मको प्रयोग बढ्दो छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*