राष्ट्रिय जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र

हेटौंडा खबर
३० चैत्र २०७८, बुधबार १६:१७

राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ।

बुधबार बुटवलमा आयोजित एक समारोहबीच अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुटवलमा आगामी स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै नेपालमा संघीय शासन प्रणाली छोटो अभ्यासबाटै असफल भएको पुष्टि भइसकेको बताए।

केसीले संघीयताका कारण नेपालमाथि दिनप्रतिदिन आर्थिक बोझ थपिँदै गएकोले संघीयता खारेजी आफ्नो पार्टीको प्रमुख एजेण्डा भएको बताए।

संघीयताकै कारण २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिमाथि र नेपालको कम्युनिष्ट आन्दोलनमाथि नै खतरा रहेको औंल्याउँदै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर अहिलेको संघीयता खारेजी गर्नुपर्ने बताए।

स्थानीय तह नै जनताका समस्या, सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ।

‘संघीयताको कारण जनताको स्थानीय स्वशासनको अधिकार कुण्ठित भइरहेको छ, त्यसो हुनु हुँदैन,’ उनले भने।

नेता केसीले स्थानीय तहलाई कमजोर गरेर प्रदेशलाई बलियो बनाउने प्रवृत्ति बढेको भन्दै प्रदेशलाई खारेज गरेर स्थानीय तहको अधिकार तथा जनताका स्थानीय स्वशासनको अधिकारलाई सुनिश्चित गर्नुपर्ने र त्यसो गर्दा अहिलेको आर्थिक भार पनि घट्ने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*